दफा ४
सम्पति कर निर्धारण र असुल उपर गर्ने
(१) साल बसाली वा कुनै एक सालको निमित्त सम्पत्ति कर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो सम्पत्ति कर यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम निर्धारण गरी असुल उपर गरिनेछ ।
(२) कुनै व्यक्तिको सम्पत्ति विभिन्न ठाउँमा भएमा त्यस्तो सबै सम्पत्तिको विवरण लिई बेग्ला बेग्लै मूल्यांकन गरी सबै सम्पत्तिलाई यो ऐनको प्रयोजनको लागि एउटा इकाई (यूनिट) मानी सम्पत्ति कर निर्धारण गरिनेछ ।
(३) प्रत्येक सालको श्रावण १ गतेका दिन जसको स्वामित्वमा सम्पत्ति रहेको छ सो आर्थिक वर्षको निमित्त सोही व्यक्तिको नाउँमा सम्पत्ति कायम रहेको मानी कर निर्धारण गरिनेछ र एकभन्दा बढी व्यक्तिहरूको संयुक्त स्वामित्वमा सम्पत्ति रहेको भए संयुक्त स्वामित्व भएका व्यक्तिहरूका नाउँमा सम्पत्ति कायम रहेको मानी दामासाहीको हिसाबले कर निर्धारण गरिनेछ ।